प्रांगारिक खेति प्रबिधि परम्परागत र आधुनिक प्रबिधिहरुको समिश्रण गरेर अपनाईने एउटा खेति प्रणालि हो जसमा वातावरण, पर्यावरण र मानव स्वस्थ्यलाई हानी पुर्याउने खालका हानिकारक रसायनिक मलहरु र बिषादीहरुको प्रयोग गरिँदैन। प्रांगारिक खेति प्रबिधिले गाईबस्तुको मल, झारहरु र बाली काटेपछि रहेका डाँठहरु, भान्साबाट निस्किएका कुहिने फोहोरहरुलाई कुहियाएर बनाइएको कम्पोस्ट मल, हरियो मल र जैविक बिषादीहरुको प्रयोग गर्न प्रोत्साहन गर्छ ।
प्रांगारिक कृषिका विशेषताहरु
- माटोमा हुने प्रांगारिक तत्वहरुलाई बचाई राखेर माटोको मलिलोपनालाई कायम राख्छ
- कोसे बालीलाई नाईट्रोजनको श्रोतको रुपमा प्रयोग गर्छ
- घुम्ते बाली, भौतिक तारिक, प्राकृतिक शत्रु आदि बिधिहरुको प्रयोग
- रासायनिक तत्वहरुको त्याग
- भू-क्षय न्यूनीकरण
- स्थानिय श्रोत र साधनको प्रयोगमा प्राथमिकता
प्रांगारिक खेति गरिने जमिन
- प्रांगारिक खेति हुने जमिनलाई प्रदूषण र मिसावटबाट जोगाउन प्रांगारिक र रासायनिक खेति गरिने जमिनहरु बिच मध्यबर्ति क्षेत्र (Buffer zone) हुनुपर्छ
- प्रांगारिक र रासायनिक खेति हुने जमिन बीच सडक भएमा ४ मिटर र अन्य अवस्थामा कम्तिमा ५ मिटर मध्यबर्ति क्षेत्र (Buffer zone) हुनुपर्छ
- रासायनिक मल , बाली वृद्धि प्रबर्द्धक र रोग/ किरा/ झारनासक विषादी जस्ता कुनै रसायन प्रयोग भएको हुनुहुदैँन
- रासायनिक खेतिमा प्रयोग गरिएका औजारहरु सफा गरेर मात्र प्रांगारिक खेति गरिने जमिनमा प्रयोग गर्नुपर्छ
बाली उत्पादन
- उपलब्ध भएसम्म स्थानीय जात र प्रांगारिक प्रमाणीकरण भएका बीउ बिजनको मात्र प्रयोग गर्नुपर्छ। यदि यस्ता बीउ बिजन नपाईएमा रासायनिक तरिकाले उत्पादित तर रासायनिक पदार्थ/ बिषादीमा उपचार नगरिएको बिउ प्रयोग गर्न सकिन्छ
- पशुपंक्षीको लागि आवश्यक पर्ने घाँस र दाना पनि प्रांगारिक तरिका बाटै उत्पादन भएको हुनुपर्छ
- बाली चक्र अपनाउँदा, हरेक बाली पछि कोसे बाली समावेश गर्नुपर्छ
माटो, पानी र मलखाद व्यवस्थापन
- कुनै पनि किसिमको रासायनिक मलको प्रयोग गर्न पाईदैन
- न्यूनतम ९० दिन कुहाएर राम्रोसँग पाकेको गोबर मल अथवा गोबर ग्याँसबाट निस्केको लेदो (slurry) बाली काट्नुभन्दा ३० दिन अगाडि नै माटोमा मिलाउनुपर्छ। राम्रोसँग नपाकेको गोबर मल र slurry प्रयोग गर्नु हुदैँन। यदि प्रयोग गर्नुपर्ने अवस्था आयो भने वाली काट्नु भन्दा १२० दिन अगाडि नै माटोमा मिलाउनु पर्छ
- कुखुराको मल प्रयोग गर्दा प्रमाणीकरण निकाएबाट स्विकृति लिएर लाभदाएक जिबाणुहरुको प्रयोग गरेर पूर्णरुपले कुहाएर मात्र प्रयोग गर्नुपर्छ
- प्रांगारिक मलको रुपमा पशु पंक्षीको रगतको धुलो, गाईवस्तुको मलमूत्र, राम्ररी कुहिएको कुखुराको मल, नीमको पिना, तोरीको पिना, फलफूल तरकारीको बोक्रा, काठको धुलो, खरानी, धानको भुस, अन्डाको बोक्राको धुलो, आदि प्रयोग गर्न सकिन्छ
रोग किरा तथा झारपात नियन्त्रण
- रोग, किरा र झार नियन्त्रण गर्न साबुन, सर्फ लगाएत कुनै पनि किसिमका विषादी प्रयोग गर्न पाइदैन
- निम, बकाईनो, रिठ्ठो, तितेपाती, असुरो, तुलसी, सुर्ति जस्ता वनस्पति बाट बनाइने झोल अथवा धुलो, खरानी, प्रांगारिक खुर्सानी, लसुन, प्याज र वनस्पति तेल, आदिको प्रयोग गर्न सकिन्छ
- बत्ती, लिसो (टाँसिने), फेरेमोन र खोल्से पासो (pitfall trap) जस्ता भौतिक तरिका प्रयोग गरि किरा नियन्त्रण गर्न सकिन्छ
- च्याउ उत्पादन गर्दा अप्रांगारिक तरिकाबाट उत्पादन गरेको पराल प्रयोग गर्न पाईदैन
बाली / वीउ भण्डारण
- भण्डारण गर्दा प्रांगारिक र अप्रांगारिक उपजहरुलाई मिसाएर राख्नु हुदैँन
- प्रांगारिक उपज भण्डारण गर्ने बेला कुनैपनि किसिमको रसायनको प्रयोग गर्नु हुदैँन
- प्रांगारिक उपज उपभोक्ता सम्म नपुगिन्जेल सुरक्षित रहने गरि लेबल लगाईएको हुनुपर्छ
डि. भी एक्सेलसले प्रांगारिक कृषिलाई प्राथमिकता दिँदै आएको छ। kheti प्ल्याटफर्म मार्फत डि. भी एक्सेलसले किसानहरुलाई प्रांगारिक खेति गर्न प्रोत्साहन गर्छ र उपभोक्तालाई पनि प्रांगारिक उपजसँग जोड्ने काम गर्छ ।